कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोजमा ३० र ३१ गते, कस्ता विद्यार्थीले दिन पाउने ?

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ३० र ३१ गते गर्ने भएको छ।
शनिबार सार्वजनिक सूचना प्रकाशित गर्दै बोर्डले असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने जनाएको छ।
यस्तै, असोज ३१ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।
०७९ को जेठमा भएको नियमित परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गरेकाहरूले पूरक परीक्षा दिन पाउनेछन्।
यस्तै, सैद्धान्तिकतर्फ अन्य विषयमा ‘डी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा दुई विषयमा अनुपस्थित (एबसेन्ट) भएका परीक्षार्थीहरूले दुई विषयसम्म पूरक परीक्षामा सहभागी हुन पाउने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ।
यस परीक्षामा सहभागी हुन योग्यता पुगेका र इच्छुकले असोज ७ गतेभित्र ६ सय रूपैयाँ र १४ गतेभित्र १२ सय रूपैयाँ बोर्डको खातामा परीक्षा शुल्कबापत बुझाएर विद्यालयले असोज २५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा रकम जम्मा गरेको भौचर पठाइसक्नुपर्नेछ।
भदौ १८, २०७९ शनिबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।