एसिया कपको ‘सुपर ४’ समीकरण पूरा, पाकिस्तान १ सय ५५ रनले विजयी

काठमाडौंः पाकिस्तान १ सय ५५ रनले विजयी भएसँगै एसिया कपको ‘सुपर ४’ समीकरण पूरा भएको छ।
१ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १०.४ ओभरमा सबै विकेट गुमाएर ३८ रनमा समेटिएपछि पाकिस्तान सुपर ४ मा प्रवेश गरेको हो।
हङकङका कुनै पनि खेलाडीले दोहोरो अंकका रन जोड्न सकेनन्। पाकिस्तानका साहब खानले चार, मोहम्मद नवाजले तीन, नसीम शाहले दुई तथा शहनवाज दहानीले १ विकेट लिए।
त्यसअघि, युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो।
उसका लागि मोहम्मद रिजवानले अविजित रहँदै सर्वाधिक ७८ रन बनाए। फकर जमान ५३ र बाबर आजम ९ रनमा आउट हुँदा खुस्दिल शाहले अविजित रहँदै ३५ रन जोडे।
बलिङतर्फ हङकङका एसहान खानले दुई विकेट लिए।
अब सुपर ४ मा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान भएका छन्। अब यी टीमबीच उपाधिका लागि शनिबारबाट प्रतिस्पर्धा हुनेछ।
पाकिस्तान सुपर ४ मा प्रवेश गरेसँगै आइतबार आइतबार पुनः भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि भारत र पाकिस्तानबीच गत आइतबार खेल भएको थियो। जुन ५ विकेटले भारतको पक्षमा गयो।
भदौ १७, २०७९ शुक्रबार २२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।