काठमाडौँ ८ बाट सांसद बन्ने नवीन्द्र पत्नी सपनाको रहर

काठमाडौँ : नेपाली कांग्रेसका दिवङ्गत नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना राजभण्डारी जोशीले नवीन्द्रकै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बन्ने रहर गरेकी छिन्।
नवीन्द्र काठमाडौँ क्षेत्र नम्बर-८ बाट प्रतिनिधिसभा सदस्य हुँदै आएका थिए। उनले सोही क्षेत्रबाट उम्मेदवार बन्न आवेदन दिएपछि क्षेत्रीय समितिले उनको नाम समेत सिफारिस गरेको छ।
२०७८ मङ्सिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा उनी महासमिति सदस्यमा सर्वसम्मत चयन भएकी थिइन्। स्थानीय तह निर्वाचनमा उनी समेत काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको आकाङ्क्षी थिइन्। तर टिकट प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह अगाडि बढेपछि उनी ब्याक भइन्।
नेपाल विद्यार्थी सङ्घको राजनीतिमा संलग्न उनी लामो समयदेखि सक्रिय राजनीतिमा छैनन्। तर जोशीको क्षेत्रमा भने उनी परिचित अनुहार हुन्।
जोशी परिवार पनि गणेशमान सिंहको परिवारसँग लामो समयदेखि जोडिँदै आएको छ। सोही क्षेत्रबाट जोशी परिवारकै अर्का सदस्य राजुराज जोशी समेत टिकटको आकाङ्क्षी छन्।
गठबन्धनबाट टिकट बाँडफाँड हुँदा सो क्षेत्र कसको भागमा पर्छ यकिन भने छैन। अर्को स्वतन्त्र उम्मेदवार सुमन सायमी समेत सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार हुने तयारीमा छन्।
भदौ १७, २०७९ शुक्रबार २१:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।