केन्यामाथि नेपालको शानदार जित, आशिफको शतक

काठमाडौंः तीन एक दिवसीय क्रिकेट सिरिजअन्तगर्तको पहिलो खेलमा नेपालले केन्यामाथि ७ विकेटको शानदार जित निकालेको छ।
२ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो।
उसका लागि आशिफ शेखले सर्वाधिक शतकीय पारी खेले। उनले १ सय ८ रन बनाउँदा अर्जुन साउदले ६१ रन जोडे। पहिलो विकेटका लागि साउद र शेखले १ सय ४१ रनको साझेदारी गरे।
यस्तै, ज्ञानेन्द्र मल्ल २३ रनमा पेभेलियन फर्किँदा कप्तान रोहित पौडेल ३ र दीपेन्द्रसिंह ऐरी १९ रन बनाएर अविजित रहे।
त्यसअघि, केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो।
उसका लागि रकिप पटेलले सर्वाधिक ६७ रन बनाउँदा कोलिन्स ओबुयाले ६२ रन जोडे। इरफान करिमले ३० रन तथा सचिन भुडियाले २६ रन बनाए।
बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३–३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १–१ विकेट हात पारे।
नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जाँदा रोहित पौडेलले टोलीको कप्तानी सम्हालिरहेका छन।
सिरिजअन्तर्गतको दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ।
यसअघि दुई देशबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिजमा नेपाल ३–२ ले विजयी भएको थियो।
भदौ १७, २०७९ शुक्रबार १९:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।