४२७ पेजको ‘चार्ज सिट’ ले खुलाएको इच्छाराजको वित्तीय अपराध साम्राज्य

४२७ पेजको ‘चार्ज सिट’ ले खुलाएको इच्छाराजको वित्तीय अपराध साम्राज्य

काठमाडौँ : सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्व अध्यक्ष इच्छाराज तामाङले रियलस्टेटको आवरणमा आफ्नो अपराधको साम्राज्य कसरी फैलाएका छन् भन्ने खुलाएको छ सम्पत्ति शुद्धीकरण विभागको चार्ज सिट।

सहकारीको आवरणमा उच्च ब्याजदरको प्रलोभन दिएर सर्वसाधारणको रकमको दुरुपयोग गर्दै उनले आफू र आफ्नो परिवारका सदस्यको नाममा ६७ कम्पनी खोल्न भ्याएका थिए। प्रभावशाली नेताहरूको संरक्षणमा उनले आफ्नो वित्तीय अपराध साम्राज्य बढाइरहे। एमाले नेतृत्वको सरकार ढलेसँगै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जब अनुसन्धान सुरु गर्यो उनको वित्तीय अपराधका जालोहरू खुल्दै गए।

हाउजिङ व्यवसायमार्फत अगाडि बढेका उनले आफ्ना हातहरू बिस्तारै सहकारी हुँदै बैङ्कसम्म पूर्याए। पक्राउ पर्दाको समयमा समेत उनी सिभिल बैङ्कका अध्यक्ष थिए। उनका वित्तीय अपराधको पोल खुल्दै गएपछि बैङ्कको साखै सङ्कटमा परेपछि बल्लबल्ल नेतृत्व बदलियो।

बैङ्कदेखि रेस्टुरेन्टसम्म ६७ कम्पनीमा लगानी

विभागले दायर गरेको चार्ज सिट अनुसार तामाङको नाममा ६७ कम्पनी रहेको खुल्यो। पहिलो त उनको चर्चित प्रोजेक्ट सिभिल होम्स भइहाल्यो। सिभिलकै नाममा उनले अधिकांश नयाँ कम्पनीहरू खोल्दै गए।

उनले आफ्नो नाममा सिभिल क्यापिटल, सिभिल अपार्टमेन्ट, सिभिल इन्फ्रास्टक्चर डेभलपर्सहुँदै सिभिल फर्निचर समेत खोले।  सिभिल इस्टेट, सिटी बस्ती विकास, सिने डेसेफ, कोट्से भैरव हाउजिङ, सिभिल आरएमसी एन्ड प्रिकाष्ट इन्डष्ट्रिज, सिभिल इन्टरनेसनल कन्सलटेन्ट, प्रिमियम इन्भेस्टमेन्ट कम्पनी, सिभिल मोडर्न कन्स्ट्रक्सन, सिभिल होटल्स, बत्सला देवी हाउजिङ, सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी, एग्रो बजार डटकम, हेरिटेड डेभलपर कम्पनीमा उनको लगानी छ।

उनीपछि सिभिल बैङ्कमा संलग्न भएर लामो समय यसको अध्यक्ष रहे। उनले ब्रिउ एन्ड भ्यु बार एन्ड रेस्टुरेन्ट समेत सञ्चालन गरेका थिए।

बिचमा वित्तीय सङ्कटमा परेपछि उनले श्रीमतीसँग कानुनी रूपमा सम्बन्ध विच्छेद गरे। तर व्यवहारिक रूपमा दुवै सँगै रहे। ती बैङ्कमा रहेको संस्थापक सेयर विक्री गरेर वित्तीय सङ्कट टार्न मात्र उनले खेल खेलेका थिए। श्रीमती सिर्जनासँग कानुनी रूपमा सम्बन्ध विच्छेद गरेर उनको नाममा रहेको शेयर विक्री गरे पनि उनको वित्तीय अवस्थामा सुधार आएन।

अनुसन्धानमा सिर्जना पनि तानिइन् नै। विभागको चार्ज सिट अनुसार सिर्जनाको नाममा मात्रै १९ कम्पनीको सेयर रहेको देखियो। उनको नाममा १२ वटा स्थानमा २६ कित्ता जग्गा रहेको खुल्यो।

सिभिल क्यापिटल, रसुवागढी हाइड्रोपावर, अजोड इन्स्योरेन्स, सेन्चुरी कमर्सियल बैङ्क, ग्लोबल आईएमई बैङ्क, मुक्तिनाथ विकास बैङ्क, नेपाल पुनर्बीमा कम्पनी, सान्जेन जलविद्युत र सिभिल बैङ्कमा उनको लगानी रहेको खुल्यो।

छोरी प्रतीक्षाको सिने डेसेफ कम्पनी, एभरेस्ट कलेज अफ मेडिकल साइन्स, सिभिल बैङ्क, सेन्चुरी कमर्सियल बैङ्क, मुक्तिनाथ विकास बैङ्क, प्राइम कमर्सियल बैङ्क, नविल इन्भेष्ट, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति विकास बैङ्क, नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लगायत २४ कम्पनीमा सेयर लगानी रहेको खुल्यो। काठमाडौँको कीर्तिपुरमा ५ कित्ता जग्गा छ उनको छोरीको नाममा।

अर्की छोरी प्रतिष्ठाको नबिल इन्भेष्ट, सेन्चुरी कमर्सियल बैङ्क, एसियन लाइफ, फस्ट माइक्रोफाइनान्स, ज्योति विकास बैङ्क, लुम्बिनी जनरल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, समिट लघुवित्त, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लगायत १७ कम्पनीमा सेयर लगानी रहेको खुल्यो।

अनुसन्धानमा उनले सहकारीमा रहेको सर्वसाधारणको बचत आफ्नो नामका अर्को कम्पनीको नाममा ऋण भन्दै निकालेर कम्पनीहरूमा लगानी गर्ने गरेको देखिएको छ। त्यसका लागि उनीहरूले धितो समेत राखेका थिएनन्।

सहकारीमा रहेको रकम अवैध रूपमा चलाएर त्यसबाट आर्जित रकम व्यक्ति आम्दानीको रूपमा उनले खर्च गर्ने गर्दै आएका थिए। उनले सिभिल बैङ्कबाट ऋण निकालेर समेत दुरुपयोग गरेको विभागको अनुसन्धानमा उल्लेख छ।

विभागको चार्ज सिट अनुसार उनीहरूको परिवारले सर्वसाधारणको बचतमा खेलेर साढे चार अर्ब रकम अवैध रूपमा आर्जन गरे। त्यसमा इच्छाराजले ३ अर्ब ३१ करोड,  तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड, छोरीहरू प्रतीक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।

सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागले दाबी गरेको छ।

भदौ १७, २०७९ शुक्रबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।