भारतबाट नेपालमा पैसा पठाउन मुथुट फिनकर्प र आइएमईबीच सहकार्य

भारतबाट नेपालमा पैसा पठाउन मुथुट फिनकर्प र आइएमईबीच सहकार्य

काठमाडौँ : भारतमा रहेका नेपालीहरूलाई रेमिटेन्स सुविधा उपलब्ध गराउन भारतको मुथुट फिनकर्प र नेपालको आइएमईबीच सम्झौता भएको छ। सम्झौतापछि अब भारतमा रहेका नेपाली आप्रवासीहरूले लिमिटेडको ३ हजार ६ सय भन्दा बढी शाखामध्ये पायक पर्ने शाखाबाट सहजै नेपालमा पैसा पठाउन सक्नेछन्।

सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सिइओ साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गरेका छन्।

भारतमा आयोजित कार्यक्रममा मुथुट फिनकर्पका अध्यक्ष एवम् प्रबन्ध निर्देशक थोमस जोन मुथुट, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललगायत अन्य वरिष्ठ अधिकारी उपस्थित थिए।

मुथुट फिनकर्प लिमिटेडका सिइओ वर्गीसले सम्झौता ३ हजार ६ सय शाखा मार्फत भारतमा बसोबास गर्ने र आम्दानी गर्ने नेपाली समुदायलाई उनीहरूको घरदैलोमा सेवा प्रदान गर्ने विस्तारित कदम भएको बताएका थिए।

आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुथुट फिनकर्पसँगको सहकार्यले भारतमा आइएमईको पहुँच विस्तार भएको बताए। आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले मुथुट फिनकर्पसँगको सहकार्य इण्डो नेपाल रेमिटेन्स सेवा विस्तारका लागि महत्त्वपूर्ण हुने बताएका थिए।

आइएमईका श्री गौतम नैथानीले मुथुट फिनकर्प लिमिटेडसँग हात मिलाउँदा इन्डो–नेपाल रेमिटेन्स सेवामा अर्को कोसेढुङ्गा थपिनेछ बताए। नेपालको लागि, विप्रेषण आप्रवाह सन् २००२ देखि बढेको छ। हाल आप्रवाह हुँदै आएको रेमिटेन्सले नेपालको राष्ट्रिय ग्राहस्थ उत्पादनको औसतमा लगभग २३% योगदान गर्दै आएको छ। नेपालले पाएको कुल रेमिट्यान्सको १५ प्रतिशत भारतबाट आएको अनुमान छ। 

भदौ १७, २०७९ शुक्रबार १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।