एकदिवसीय सिरिज : केन्याले दियो २ सय १९ रनको लक्ष्य

एकदिवसीय सिरिज : केन्याले दियो २ सय १९ रनको लक्ष्य

काठमाडौंः तीन एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई २ सय १९ रनको लक्ष्य दिएको छ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय १८ रन बनायो।

उसका लागि रकिप पटेलले सर्वाधिक ६७ रन बनाउँदा कोलिन्स ओबुयाले ६२ रन बनाए। इरफान करिमले ३० रन जोड्दा सचिन भुडियाले २६ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले समान ३–३ विकेट लिए भने आदिल अन्सारी र पवन शर्राफले १–१ विकेट हात पारे।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

सिरिजअन्तर्गतको दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार हुनेछ।

यसअघि दुई देशबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिजमा नेपाल ३–२ ले विजयी भएको थियो।

भदौ १७, २०७९ शुक्रबार १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।