साफ महिला च्याम्पियनसिप : १९ सदस्यीय समिति गठन, साढे तीन कराेड खर्च, तोकियो टिकटको मूल्य

काठमाडौ : ‘साफ महिला फुटबल च्याम्पियनसिप’ सञ्चालननका लागि अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले १९ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ।
भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगाशालामा हुने प्रतियोगितामा लागि एन्फा कार्यसमितिले वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरेको हो। त्यस अन्तर्गत आवश्यक उपसमितिहरू पनि एन्फाले गठन गरेको छ।
नेपाल, भारत, श्रीलंका भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको राष्ट्रिय महिला टोलीले सहभागी हुने प्रतियोगिता लिगकम नकआउट प्रणालीमा खेलाइने साफको तयारी छ।
सात टीमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन्। प्रत्येक समूहबाट अंकको आधारमा पहिलो र दोस्रो टीमे सेमिफाइनल खेल्ने एन्फाले जनाएको छ।
प्रतियोगिताको कुल बजेट तीन करोड ४७ लाख ६७ हजार ६ सय ८० रूपैयाँ अनुमान गरिएको छ। जसमध्ये सहभागी टीमहरूको र म्याच अफिसियलहरूको खानपिन र बसोबास खर्च साफले व्यहोर्नेछ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरू एन्फाले व्यहोर्नेछ।
प्रतियोगितामा सहभागी टीमहरूमध्ये भुटान र पाकिस्तान काठमाडौं आइसकेको छ भने बाँकी टीमहरू पनि भदौ १९ गतेसम्म आइसक्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताए।
प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र ब्रोडकास्टिङ अधिकार एन्फाले भारतको १०० स्पोस्ट्स म्यानेजमेन्ट प्रालिलाई बिक्री गरिसकेको छ। प्रतियोगितामा साधारण प्यारापिटतर्फ ३ सय र भीआईपी प्यारापिटतर्फ ५ सय रूपैयाँ टिकट मूल्य तोकिएको छ।
साफ महिला फुटबल च्याम्पियनसिप एन्फाको निर्वाचनपछि आएको नयाँ कार्यसमितिले पहिलोपटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
भदौ १७, २०७९ शुक्रबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।