गोरखा- १ बाट सिफारिसमा परे पनि प्रचण्ड चितवन- ३ बाटै चुनाव लड्ने

गोरखा- १ बाट सिफारिसमा परे पनि प्रचण्ड चितवन- ३ बाटै चुनाव लड्ने

काठमाडौं: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवन- ३ बाटै चुनाव लड्ने बताएका छन्। आज माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि सुर्खेत आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

'मैले प्रष्ट भनिसकेको छु। चितवनको क्षेत्र नम्बर ३। म पहिला पनि त्यहीँबाट लडेको, अहिले पनि त्यहीँबाट लड्छु', उनले भने।

यसअघि माओवादी केन्द्र गोरखाले प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउन सिफारिस गरेको थियो।

उनले एकीकृत समाजवादीसँग एकताका लागि प्रयास भइरहेको पनि बताए। निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने उनले बताए।

प्रचण्डले गठबन्धन दलको सिट बाँडफाँट अन्तिम टुङ्गोमा पुग्न लागेको पनि बताए। गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको उनले बताए।

यस्तै गठबन्धन दलभित्र कुनै असहमति नभएको पनि उनले उल्लेख गरे। नेकपा एमालेसँग भने तालमेलको कुनै सम्भावना नरहेको उनले सुनाए।

यसका साथै कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको पनि उनले बताए।

भदौ १७, २०७९ शुक्रबार १२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।