पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको वसन्तपुर दरबार स्क्वायरबाट पर्यटकीय स्थल विशेष सरसफाइ अभियानको सुरुवात गरेका छन्। सम्पदा स्थलहरूलाई सफा एवं आकर्षक बनाउने लक्ष्यसाथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।
अभियानअन्तर्गत हनुमानढोका क्षेत्र, वसन्तपुर दरबार स्क्वायर र त्यस आसपासमा सरसफाइ गरिएको थियो। पर्यटन पुनरुत्थानका लागि 'क्लिन नेपाल, ग्रीन नेपाल' नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्बद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरू र शैक्षिक प्रतिष्ठानहरूसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो। मन्त्री श्रेष्ठले अघि सारेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनमा महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाइ अभियान संचालन गर्ने उल्लेख छ।
पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्त्वपूर्ण भएकोले यसलाई अभियानकै रूपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ।
अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवर्द्धनमा सघाउ पुर्याउने उनले बताए।
सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको सहभागिता थियो। देशका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए।
भदौ १७, २०७९ शुक्रबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।