श्रीलंका एसिया कपको ‘सुपर ४’मा प्रवेश, बंगलादेश बाहिरियो

काठमाडौं : एसिया कप अन्तर्गत बिहीबार भएको खेलमा बंगलादेशलाई हराउँदै श्रीलंका सुपर ४ मा प्रवेश गरेको छ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। दुई विकेटको जित निकाल्दै श्रीलंका समूह ‘बी’बाट अफगानिस्तानसँगै सुपर ४ मा प्रवेश गरेको हो।
अफगानिस्तानले यसअघि बंगलादेश र श्रीलंका दुवै टीमलाई पराजित गर्दै सुपर ४ प्रवेश गरिसकेको थियो। बंगलादेश भने प्रतियोगितबाट बाहिरिएको छ।
श्रीलंकाको जितमा कुशल मेन्डिसले ६०, दसुन सनाकाले ४५, पथुम निसान्काले २०, चमिका करुणारत्नेले १६ तथा असिथा फर्नान्डोले अविजित १० रन बनाए।
बलिङतर्फ इबादत हसनले तीन, टक्सिन अहमद दुई तथा म्हेदी हसन र मुस्ताफिजुर रहमानले समान एक–एक विकेट लिए।
त्यसअघि, युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको बंगलादेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो।
उसका लागि अफिफ हुसैनले ३९, म्हेदी हसनले ३८, मोहम्मुल्लाहले २७ तथा मोसाद्दक हुसेन र सकिब अल हसनले समान २४–२४ रन बनाए।
बलिङतर्फ श्रीलंकाका चमिका करुणारत्ने र डी सिल्बाले समान दुई–दुई तथा असिता फर्नान्डो, महिस टिकसाना र दिलसान मधुसन्काले समान एक–एक विकेट लिए।
समूह ‘ए’बाट भारत सुपर ४ मा प्रवेश गरिसकेको छ भने पाकिस्तान र हङकङबीचको प्रतिस्पर्धाले अर्को टोलीको टुंगो लाग्नेछ। दुई देशबीचको खेल शुक्रबार बेलुकी पौने ८ बजे हुनेछ।
भदौ १६, २०७९ बिहीबार २३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।