काठमाडौं उपत्यकामा रात्रीकालीन सम्पदायात्रा हुने

काठमाडौं उपत्यकामा रात्रीकालीन सम्पदायात्रा हुने

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएका छन्।

काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रका सरोकारवालाहरूसँग बुधबार भएको छलफलमा मन्त्री श्रेष्ठले रात्रीकालीन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने बताए।

रात्रीकालीन सम्पदायात्राबाट उपत्यकाका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उनले बताए।

उनले भने- 'रात्रीकालीन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउनेछन्।' 

पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रीकलीन सम्पदायात्रा सञ्चालन गरिने उनले जानकारी दिए।

ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरूको भनाइ छ। छलफलमा उपत्यकाका स्थानीय तहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ-संस्थाका प्रतिनिधि सहभागी थिए।

दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रीकालीन सम्पदायात्रा सञ्चालन गर्न लागिएको हो। रात्रीकालीन सम्पदायात्राले स्थानीयबासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुन्ने मन्त्री श्रेष्ठको विश्वास छ।

भदौ १६, २०७९ बिहीबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।