फास्ट मोबाइल नेटवर्कको पुरस्कार एनसेललाई

फास्ट मोबाइल नेटवर्कको पुरस्कार एनसेललाई

काठमाडौँ : इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्कको पुरस्कार पाएको छ।

मोबाइल र ब्रोडब्यान्ड नेटवर्क उक्लाले उसलाई जनवरी–जुन २०२२ को लागि पुरस्कृत गरेको हो। मोबाइल डेटाको डाउनलोड र अपलोड गतिको स्पिड स्कोरका आधारमा एनसेल सम्मानित भएको कम्पनीले जानकारी दिएको छ।

स्कोरमा एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पिड स्कोर प्राप्त गरेको थियो। ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आबद्ध रहेका ग्राहकले गरेका १६ हजार ९ सय २९ स्पिड टेस्टको तुलना गरेको हो।

ऊक्लाका अनुसार, परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनेर पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश गरिएको थियो।

पुरस्कृत भएपछि एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डका साथ यसले दिने लाभसँग उपभोक्तालाई जोड्ने निरन्तरको प्रयासलाई ऊक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता दिएकोमा खुसी लागेको बताए।

उनले यो अवार्डले आफ्नो प्रतिबद्धता अनुसार सेवा प्रदान गरिरहेको भन्ने प्रमाण रहेको बताए।

देशको ८५ प्रतिशत जनसङ्ख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट सञ्चालन ल्याएको सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको कम्पनीको दाबी छ।

‘एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा हामी खुसी छौँ। यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो। यो अवार्ड उपभोक्ताहरू आफैले गरेका स्पीडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ’, ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले भने।

मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित भएको थियो। 

 

भदौ १६, २०७९ बिहीबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।