चुनावको मुखमै पोखरा महानगरले थाल्यो भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण 

चुनावको मुखमै पोखरा महानगरले थाल्यो भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण 

पोखरा : निर्वाचन नजिकिँदै गर्दा पोखरा महानगरपालिकाले पनि भूमिहीनलाई जग्गा धनी पुर्जाको निस्सा वितरण थालेको छ।

निर्वाचन आउनै लाग्दा सत्ताको आडमा जग्गा धनी पुर्जाको निस्सा वितरण गरेर पोखरा महानगरका प्रमुख धनराज आचार्यले एकीकृत समाजवादीको भोट बढाउने प्रयासमा लागेका छन्।

मेयर आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त रूपमा पोखरामा बिहीबार वडा नम्बर ९ का २५१ जना भूमिहीन, दलित, सुकुम्बासीलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरेका हुन्।

मेयर आचार्यले निस्सा वितरण गर्दै भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनुअघिको लालपुर्जा भएको बताए।

‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडीको लालपुर्जा हो, यो कागज नपाउनेले लालपुर्जा पाउँदैन,’ उनले भने, ‘लालपुर्जा पाउनका लागि निस्सा अनिवार्य छ, यसलाई सुरक्षित राख्नृुहोला।’

सुकुुम्बासीहरूलाई हाल बसिरहेको स्थानमा कुनै समस्या नभए सोही स्थानमै बस्ने दिने र स्थान उपयुक्त नभए अर्को स्थान दिइने मेयर आचार्यले बताए। उनले महानगरको ढोकामा नाराजुलुस गर्न आउन नपर्ने वातावरण बनाएको स्पष्ट पारे।

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष पोख्रेलले निस्सालाई केही होइन भनेर भ्रम छर्ने प्रयास भएको भन्दै यसलाई लालपुर्जा प्राप्त गर्ने आधार सम्झेर सुरक्षित राख्न आग्रह गरे।

वडा नम्बर ९ मा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको संख्या ९११ रहेको छ।

भदौ १६, २०७९ बिहीबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।