चोरिएका २१ दुईपाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण

काठमाडौं : विभिन्न मिति तथा समयमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी धनीलाई हस्तान्तरण गरेको छ।
बिहीबार रामशाहपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन्।
कार्यालयमा साउन र भदौ महिनाको मध्यसम्म दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएकोमा १०१ ओटा सवारी साधन फेला परेका थिए।
फेला परेकामध्ये साउनमा ७३ ओटा र भदौ महिनाको मध्यसम्म १० ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ। बिहीबार पनि २१ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै भदौ १६ गतेसम्म १०४ ओटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ।
यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुईपाङ्गे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारबाहीको लागि परिसर तथा वृतमा पठाइएको छ।
फेला परेकामध्ये धनी सम्पर्कमा नआएका ३ ओटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुई पाङ्ग्रे सवारी साधन हराएको निवेदन दिएका धनीलाई सम्पर्कमा आउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
भदौ १६, २०७९ बिहीबार १६:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।