बिहीबार राणासँग दुई घण्टा बयानमा सोधिए दुई प्रश्न, के–के दिए जवाफ ?

बिहीबार राणासँग दुई घण्टा बयानमा सोधिए दुई प्रश्न, के–के दिए जवाफ ?

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर राणाले बिहीबार दुई घण्टा संसदको महाअभियोग सिफारिस समितिमा बयान दिए।

१२ बजेदेखि सुरु भएको बयान २ बजेसम्म लिइयो। यसक्रममा समितिले तयार पारेका जम्मा दुईवटा मात्र प्रश्न गरियो। समितिले ४३ प्रश्नमध्ये बुधबार चारवटा प्रश्न सोधिएको थियो।

राणामाथि बिहीबार न्याय सम्पादन गर्न नसकेको, शक्ति सन्तुलन कायम गर्न नसकिएको, न्याय सम्पादनमा भ्रष्टाचार भएको आरोपमाथि केन्द्रीत भएर बयान लिइयो।

बयान दिने क्रममा राणाले महाअभियोगमा हस्ताक्षर गर्ने सांसदहरू पनि समितिमा भएको भन्दै समितिको औचित्यमाथि नै प्रश्न उठाए।

राणाले बयान दिने क्रममा भने, ‘आफैँले महाअभियोग प्रस्ताव गर्ने र आफैँ समितिमा भएर निर्णय गर्ने विषय प्राकृतिक न्यायको सिद्धान्तभन्दा बाहिरको कुरा हो।’

यस्तै उनले आफ्नो तेतृत्वमा पेसी व्यवस्थापन र ठूला मुद्दाहरूको फैसला भएको बताए। सरकारी जग्गालाई सार्वजनिक कायम गर्ने करछलीका मुद्दामा आफूले फैसला गरेको उनको दाबी छ।

राणाले आफूमाथि लागेको आरोपको प्रतिरक्षाका लागि जस्तोसुकै अभिव्यक्ति पनि दिनसक्ने भन्दै त्यसलाई सामान्य रुपमा लिनुपर्ने समितिका सदस्य विश्वकर्माले बताए।

राणासँग बाँही रहेका समितिका ३९ र बारका २१ प्रश्नको जवाफ लिने क्रम आइतबार बाट पुनः सुरु हुनेछ। शुक्रबार प्रतिनिधि सभाको बैठक भएकाले अब राणालाई बयानका लागि आइतबार दिउँसो १ बजे बोलाइएको छ।

यस्तै, समितिले शनिबारसम्मका प्रतिवेदन संसदमा पेश गर्नुपर्नेमा राणासँगको बयान नसकिएको भन्दै समितिको कार्यतालिका संशोधन हुने समिति सदस्य विश्वकर्माले बताए।

भदौ १६, २०७९ बिहीबार १५:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।