आज ऋषि पञ्चमी, तीज समापन हुँदै

आज ऋषि पञ्चमी, तीज समापन हुँदै

काठमाडौं: आज तीजको अन्तिम दिन ऋषि पञ्चमी रहेको छ। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गरिने चलन छ।

तीजको व्रत बसेका महिलाहरूले बिहानै उठेर गोदान, पूर्णपात्रलगायत गरी नजिकको नदी, ताल, पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्।

ऋषि पञ्चमी रजस्वलासँग पनि सम्बन्धित छ। रजस्वला हुँदा कुनै त्रुटि भएको भए ऋषि पञ्चमीको दिन सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।

अरुन्धति, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र (सप्तऋषि)को पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो।

व्रत बसेका महिलाले आज नरोपी उम्रेका अन्न, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने मान्यता छ।

भदौ १६, २०७९ बिहीबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।