नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट ६ सय ७३ जना खेलाडी छनौट

पोखरा : गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्कीबाट ६ सय ७३ जना खेलाडी सहित प्रशिक्षक, छनौट भएका छन्। बुधवार कास्की जिल्ला खेलकुद विकास समितिले खेलाडी छनौट गरेको हो।
समितिका अध्यक्ष बानिया, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बराल, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले छनौट भएका खेलाडीहरूलाई प्रमाणपत्र सहित पोसाक वितरण गरेका थिए।
कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीलाई खेल सामाग्री समयमै उपलब्ध गराउन आग्रह गरेका थिए।
कास्कीका १ हजार १ सय १८ जना खेलाडीमध्येबाट ६ सय ७३ खेलाडीहरू छनौट भएको समितिका अध्यक्ष तोरण बहादुर बानियाले बताए।
नवौँ राष्ट्रिय खेलकुदका लागि ३३ खेल स्थल
नवौँ राष्ट्रिय खेलकुदका लागि खेल स्थल व्यवस्थापन उपसमितिले प्रतियोगिताका लागि ३३ वटा खेलको खेल स्थलको टुङ्गो लगाएको छ। समितिले प्रतियोगितामा समावेश विभिन्न ३३ वटा खेलका लागि उपयुक्त खेल मैदानसहित अभ्यास स्थलको टुङ्गो लगाएको हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेल स्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश कुमार गुरुङले नवौँ राष्ट्रिय प्रतियोगिताका ३३ वटा खेलको खेल स्थलको टुङ्गो लगाएका बताए।
उनले समितिका सदस्य सचिव, टेक्निकल टोली सहित खेल पदाधिकारी बसेर केही दिनमै खेल स्थल सार्वजनिक गरिने बताए।
संयोजक गुरुङले प्याराग्लाइडिङ लागि कास्की सहित स्याङ्जा, तनहुँ लगायतका जिल्लामा सम्भावित ‘स्पट’को अवलोकन गरिएको उल्लेख गरे।
उनले प्रतियोगिता सञ्चालक लागि छानिएका विभिन्न स्पटहरूमा आवश्यक भौतिक पूर्वाधारहरूको निर्माण गर्न आवश्यक रहेको बताए।
३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई प्रदेशका ११ वटै जिल्लाको अपनत्व रहने गरी सञ्चालन गर्न लागिएको उनले बताए।
भदौ १५, २०७९ बुधबार २२:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।