बयान दिन आएका चोलेन्द्रले पूर्व प्रधानन्यायाधीश र बार पदाधिकारीमाथि गम्भीर आरोप लगाएर हिँडे

बयान दिन आएका चोलेन्द्रले पूर्व प्रधानन्यायाधीश र बार पदाधिकारीमाथि गम्भीर आरोप लगाएर हिँडे

काठमाडौँ : महाअभियोगबारे सिफारिस समितिमा बयानका लागि पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्व प्रधानन्यायाधीशहरूमाथि सर्वोच्च अदालतमा भाग खोज्ने गरेको आरोप लगाएका छन्।

समितिका सदस्यहरूले उनीमाथि कडा प्रश्न गरे पनि उनी गलेको देखिएन। उनी हरेक प्रश्नको निर्धक्क जवाफ दिइरहेका थिए। जवाफमा नेता, नेपाल बारका पदाधिकारी अनि पूर्व न्यायाधीश सबैलाई आरोपित गरे। उनले प्रश्न सोध्ने समितिका सदस्यहरूलाई कुनै पनि आरोप लगाउँदा भोलि प्रमाणित गर्न सक्ने भए मात्र लगाउनु भन्दै उल्टो प्रतिप्रश्न गरेका थिए।

समितिका सदस्यहरूले सोधेको प्रश्नको जवाफमा उनले संविधान अनुसार आफूमाथि दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गर्दै नागरिकको रूपमा संसदीय समितिको मान राख्न बयानका लागि आएको बताएका थिए।

उनले सदस्यहरूको प्रश्नको उत्तरमा आफ्नो पक्षमा सफाइ दिनेभन्दा पूर्व प्रधानन्यायाधीहरुमाथि गम्भीर आरोपहरू लगाए। उनले पूर्व प्रधानन्यायाधीशहरुले अवकाश पाएपछि पनि अदालतमा भाग खोज्ने र आफैँ अदालत चलाउन खोजेको गम्भीर आरोप लगाए।

समितिको बुधवारको बैठकमा उनले पूर्व प्रधानन्यायाधीशहरुले न्यायपालिकाको नियन्त्रण गर्न खोजेको आरोप लगाएका थिए।

'रिटायर्ड भएपछि पनि उहाँहरूले विभिन्न कोणबाट न्यायपालिकामा डिक्टेट गर्न खोज्नुभयो,' उनले दाबी गरे 'पूर्व प्रधानन्यायाधीशहरूले संरक्षक हौँ भन्दै कर्मचारीको सरुवा बढुवामा भाग खोज्छन्।'

उनले पूर्व प्रधानन्यायाधीहरुलाई आफूले भाग नदिएपछि उनीहरू आफ्नो विरुद्धमा आन्दोलनमा लागेको तर आफ्नो स्वभावले भाग दिन नसक्ने दाबी गरेका थिए। उनले आफूलाई राजीनामा दिन दलबाट दबाब आएको तर थेगेर बसेको भन्दै न्यायपालिकाको गरिमा बचाउन हर सम्भव प्रयास गरेको दाबी गरेका थिए।

उनले प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको भन्दै आफू विधि र पद्धतिबाट आएकाले पार्टी र मिडियाको दबाबमा काम नगर्ने बताए।

सांसदहरूको ४३ वटा प्रश्नहरूमध्ये बुधवार चार वटा प्रश्नहरूको वरिपरि मात्रै बयान भयो। बिहीबार बयान निरन्तर हुनेछ।

भदौ १५, २०७९ बुधबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।