पूर्व श्रम राज्यमन्त्रीको फन पार्कलाई कर तिर्न महानगरको २४ घण्टाको अल्टिमेटम, पैसा नतिरे बन्द गर्ने चेतावनी

पूर्व श्रम राज्यमन्त्रीको फन पार्कलाई कर तिर्न महानगरको २४ घण्टाको अल्टिमेटम, पैसा नतिरे बन्द गर्ने चेतावनी

काठमाडौँ : पूर्व श्रमराज्यमन्त्री एवं म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले सञ्चालन गरिरहेको फन पार्कले २४ घण्टामा कर नतिरे काठमाडौँ महानगरपालिकाले सिलबन्दी गर्ने चेतावनी दिएको छ।

उसले २०७२ देखिको कर नतिरेको भन्दै महानगरपालिकाले बुधवार पत्र पठाएर २४ घन्टे अल्टिमेटम दिएको हो। भृकुटीमण्डपमा रहेको फन पार्क प्रालीले समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यापार गर्दै आएको छ।

नेपाली कांग्रेसका नेता समेत रहेका गुरुङ सो कम्पनीका प्रमुख हुन्। तर उनले बहालदेखि महानगर र वडालाई तिर्नुपर्ने कर नतिरेको भन्दै महानगरले २४ घण्टाको समय दिएर पत्र पठाएको हो।

परिषद्को ६० रोपनी जग्गा भाडामा लिएर प्रालीले लामो समयदेखि बालबालिका लक्षित गरेर फन पार्क सञ्चालन गरिरहेको छ।

पत्रमा व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाएको भन्दै पत्र पाएको २४ घन्टमा सबै कर चुक्ता नगरे सिलबन्दी गरेर सरकारी बाँकी सरह असुल गर्ने चेतावनी दिइएको छ।

महानगरको राजस्व विभाग प्रमुख शिवराज अधिकारीको हस्ताक्षर रहेको पत्रमा महानगरले कर बुझाउन पटक-पटक ताकेता गर्दा समेत कर नतिरेको उल्लेख छ।

पत्रमा व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर बुझाउन भनिएको छ।

भदौ १५, २०७९ बुधबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।