'बयानमा चाेलेन्द्रले सीमा नाघे, बुधबार बयान सकिँदैन'

काठमाडौं : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग बयान लिइरहेको छ।
समितिले सिंहदरबारमा बयान लिइरहँदा उनले दिएको जवाफहरूको बारेमा सञ्चारमाध्यममा चर्चा–परिचर्चा पनि भइरहेको छ। यसैबीच समितिका एक सदस्य मीन विश्वकर्माले राणाका केही जवाफ सीमाभन्दा बाहिर गएको बताएका छन्।
सञ्चारकर्मीसँगको कुराकानीले विश्वकर्माले राणाले केही प्रश्नको जवाफ सीमाभनदा बाहिर गएर दिएको बताए।
‘आफ्नो प्रतिरक्षाका लागि उहाँले सीमाभन्दा बाहिर गएर केही भनाइहरू राख्नुभएको छ,’ उनले भने, ‘यद्यपि उहाँका भनाइहरूलाई छानबिन गर्न बाँकी नै छ।’
प्रतिरक्षाका लागि राणाले भनेका सबै कुराहरूलाइ समितिले सामान्य रूपमा लिएको भन्दै उनले सीमाबाहिर गएको उदाहरणसमेत दिए।
‘संविधानले सर्वोच्च अदालतमा भएका कामकारबाहीको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीशको हुने भनेको छ,’ उनले भने, ‘तर, उहाँले आफूमाथिको दोषलाई अर्काको टाउकोमा थोपार्न खोज्नुभयो। सीमाभन्दा बाहिर भनेकै त्यहि हो।’
सदस्य विश्वकर्माले समितिले महाभियोग प्रस्तावलाई सर्वसम्मत निष्कर्षबाट टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे। यसअघिका समितिका चारवटा बैठकहरूमा पनि सर्वसम्मत निर्णय भएको भन्दै उनले अबका बैठकहरूबाट पनि प्रस्तावलाई सर्वसम्मत रूपम निष्कर्षमा पुर्याउने बताए।
राणमाथि समितिले ६४ प्रश्नहरू सोध्नेछ। जसमध्ये समितिकै ४३ वटा प्रश्न छन् भने नेपाल बार एशोशिएसनका २१ वटा प्रश्नहरू छन्।
राणासँगको बयान लिने बुधबार नससकिने पनि विश्वकर्माले स्पष्ट पारेका छन्। प्रश्न र जवाफमा मात्र नभएर प्रतिप्रश्न र त्यसपछिको स्पष्टिरकणको सोध्ने क्रम सुरु भएकाले बुधबार नै प्रश्नहरूको सिलसिला नसकिने उनको भनाइ छ।
प्रश्न सोध्ने सांसदहरूको र उत्तर दिने राणको हाउभाउ सामान्य रहेको विश्वकर्माले बताए। सांसदहरूले चर्किएर प्रश्न पनि नसोधेको र राणाले पनि आफ्नो प्रतिरक्षामा सामान्य तरिकाले नै उत्तर दिइरहेको उनको भनाइ छ।
भदौ १५, २०७९ बुधबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।