दल दर्ता : सिके राउत 'फर्स्ट' हुँदा रवि लामिछाने 'लास्ट', मधेश प्रदेशमा सबैभन्दा धेरै दल

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभामा भाग लिने दलहरूले समानुपातिक तर्फको निर्वाचनका लागि दल दर्ता गराए।
भदौ १२ गतेसम्म भएका दल दर्ताअनुसार देशको राजधानी समेत रहेको बागमती प्रदेशमा भन्दा मधेश प्रदेशमा बढी दलहरू देखिएका छन्। यसअघिका निर्वाचनमा राजधानी भएको प्रदेशमा बढी दल दर्ता हुने गरेका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअुनसार समानुपातिकतर्फ प्रतिनिधि सभामा ६८ दलले सहभागिता जनाउँदैछन्।
दल दर्ता गर्दा पहिलो विवरण सिके राउत नेतृत्वको जनमत पार्टीले टिपाएको छ भने अन्तिम निवेदन रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको आयोगले जनाएको छ।
यस्तै, प्रदेश सभाको समानुपातिक तर्फ सबैभन्दा बढी मधेश प्रदेशमा दलहरू दर्ता हुँदा सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ।
प्रदेश १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले समानुपातिक निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरेका छन्।
भदौ १५, २०७९ बुधबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।