नेपालकाे इतिहासमै पहिलाेपटक निलम्बित प्रधानन्यायाधीशसँग बयान लिइँदै

काठमाडौं : महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएकाे छ।
भदौ ७ गते बसेको समितिको बैठकले बुधबार बोलाउने निर्णयअनुसार विहान ११ बजे राणासँग बयान लिन लागिएकाे हाे।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो।
१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो।
यसअघि २०७४ वैशाखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि पनि महाअभियोग प्रस्ताव संसदमा दर्ता भएकाे थियाे। महाअभियाेग प्रस्ताव दर्तापछि निलम्बनमा परेकी कार्की छ दिनपछि सर्वाेच्च अदालतकाे आदेशले निलम्बन फुकुवा भएकाे थियाे।
न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत रहेको भन्दै तत्काल अघि नबढाउन व्यवस्थापिका संसद, सभामुख, नेपाली कांग्रेस र माओवादी केन्द्र संसदीय दलका नाममा अन्तरिम आदेश जारी गरेको थियाे।
सत्तारुढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।
भदौ १५, २०७९ बुधबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।