प्रदेश छाड्दै एमालेका पूर्वमुख्यमन्त्रीहरू, दुई जना उम्मेदवारी नै नदिने मुडमा

काठमाडौं : नेताहरूको व्यवस्थापन गर्न भनौं वा प्रदेशमा आफ्नो पक्षमा माहोल बनाउन। एमालेले ०७४ को निर्वाचनमा एमालेले केन्द्रीय नेताहरूलाई प्रदेश सभामा उठायो।
पटक–पटक मन्त्री भइसकेका र पदाधिकारी भइसकेका नेतहरू समेत केन्द्रको आदेशलाइ शिरोधार्य गर्दै उठे पनि, जिते पनि। सोहीअनुसार ६ वटा प्रदेशमा एमालेले तजबिजी अनुसारका सरकार बनायो। प्रभावशाली नेताहरू मुख्यमन्त्री बनेर प्रदेश हाँके।
तर, आन्तरिक द्वन्द्ध व्यवस्थापन गर्न नसक्दा तत्कालीन नेकपा भएको एमाले अहिले ६ वटै प्रदेश सरकार र केन्द्र सरकारबाट बाहिर छ।
सअघि प्रदेशको निर्वाचनमा उठेका एमालेका पूर्व मुख्यमन्त्रीहरू अब भने प्रतिनिधि सभामै भिड्ने तयारीमा छन्। यद्यपि बागमतीका दुई पूर्व मुख्यमन्त्री भने निर्वाचन नै नलड्ने भएका छन्।
निर्वाचनपछि उपाध्यक्ष समेत भइसकेकी माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई छायाँमा पारेर केन्द्रीय राजनीतिमा नछाएका ओलीनिकट डोरमणि पौडेल मुख्यमन्त्री बने। अर्का उपाध्यक्ष भीम आचार्यलाई मुख्यमन्त्री बन्ने मामिलामा पनि ओलीनिकट शेरधन राईले उछिने।
उपमहासचिव रहेका शंकर पोखरलले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने भने तत्कालीन सचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीको कुर्सी सम्हाले। ०७४ सालमा प्रदेश हाँकेका एमाले केन्द्रीय नेता यसपटक प्रदेशमा देखिन चाहेका छैनन्।
बागमती प्रदेशमा मुख्यमन्त्री भएका डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य चुनावी मैदानमा नदेखिने भएका छन्। पौडेलले सामाजिक सञ्जालमा घोषणा नै गर्न भ्याए। शाक्य भने तयारीनै नगरेको बताउँछिन्।
‘अहिले केही सोचेको छैन। पछि नै कुरा गरौँला,’ शाक्यले उकेरासँग भनिन्, ‘पार्टी निर्वाचनमा गइसकेको थाहा पाइहाल्नुभएको छ।’
शाक्य ०७४ मा काठमाडौं क्षेत्र नम्बर ८ ‘ख’ बाट निर्वाचित भइन्। प्रदेश संरचनामा पहिलो महिला मुख्यमन्त्री भएको रेकर्ड समेत उनले राखिन्।
सर्वोच्चको आदेशले नेकपा पूर्ववत अवस्थामा फर्किएपछि एमाले विभाजनमा शाक्य अन्तिम समयमा मुल पार्टीमै रहिन्। तत्कालीन समयमा माधव नेपालको मुख्य मन्त्रीको अफर छाडेर उनी एमालेबाट मुख्य मन्त्री बनिन्। एमालेको १०औं महाधिवेशनमा उपाध्यक्षमै दोहोरिइन् शाक्य।
केन्द्रीय राजनीतिमा पहुँच बनाएका शंकर पोखरेल ०७४ को निर्वाचनमा प्रदेश सभामा भिडे। केन्द्रीय मन्त्री भइसकेका पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री बने। दाङ–२ ‘क’बाट निर्वाचित पोखरेलको अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिए।
१०औं महाधिवेशमा एमाले महासचिव बनेका पोखरेलले प्रतिनिधि सभामा लड्नेछन्। पार्टीभित्र बलियो गुट बनाएका पोखरेल टिकट बाँड्दा आफू हाबी हुने कसरतमा छन्।
०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा दाङ ४ मा कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भएका पोखरेल आगामी निर्वाचनमा दाङ २ बाट निर्वाचन लड्ने सम्भावना रहेको एमाले नेताहरू बताँछन्। सो क्षेत्रमा ०७४ मा माओवादीका कृष्णबहादुर महरा निर्वाचित भएका थिए।
मन्त्री भइसकेका पृथ्वीसुब्बा गुरुङ ०७४ को निर्वाचनमा प्रदेश सभामा आए। लमजुङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित भएका गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बने। पार्टी विभाजन भएसँगै गुरुङको मुख्यमन्त्री पद गयो।
१० औं महाधिवेशनमा उपमहासचिव चुनिएका गुरुङले पार्टीका प्रचार विभागको कमाण्ड सम्हालिरहेका छन्। अब कुन क्षेत्रबाचट निर्वाचन लड्ने भन्ने बारे निर्णय लिइसकेका छैनन्।
‘निर्णय गरिसकेको छैन। समय छ गरौंला नि!’, उनले उकेरासँग भने।
विष्णु पौडेल गुटका हर्ताकर्ता मानिने गुरुङ पार्टीभित्र पनि प्रभाव बढाउँदै टिकट वितरणमा प्रभाव पार्ने प्रयासमा छन्।
तत्कालीन एमालेका केन्द्रीय सचिवसमेत रहेका भीम आचार्य ०७४ को निर्वाचनमा सुनसरी १ ‘ख’ बाट निर्वाचित भए। पार्टी विभाजनको अन्तिम समयमा माधव नेपालको साथ छाडेर मुल पार्टीमा फर्किएका उनी एकीकृत समाजवादीका सम्मानित नेता झनाथ खनालका साढुभाइसमेत हुन्।
मुल पार्टीमा फर्किएपछि उनले प्रदेश १ का मुख्यमन्त्री बन्ने अवसर समेत पाए। कुन क्षेत्रबाट निर्वाचन लड्ने तय नभएका बताउने उनी प्रतिनिधि सभा निर्वाचनको तयारीमा भने छन्।
०७४ को निर्वाचनमा प्रदेश भोजपुर १ ‘ख’ बाट निर्वाचित शेरधन राई भीम आचार्यलाई एमालेमै रोक्न ओलीको निर्देशनमा मुख्यमन्त्रीको पद छाड्ने व्यक्ति हुन्। प्रदेशको कमाण्डर पद सम्हालिसकेका राई अब भने केन्द्रकै राजनीतिमा होमिने तयारीमा छन्।
भदौ १४, २०७९ मंगलबार २२:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।