सरकारले स्वीकृत गर्‍यो ६ सय ६३ अस्थायी दरबन्दी, तर नयाँले नियुक्ति नपाउने

सरकारले स्वीकृत गर्‍यो ६ सय ६३ अस्थायी दरबन्दी, तर नयाँले नियुक्ति नपाउने

काठमाडौं : सरकारले विभिन्न मन्त्रालयका आयोजना र कार्यक्रमहरूका लागि ६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८०का लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ३०, ऊर्जा मन्त्रालयका लागि ४ सय ३१, कृषि मन्त्रालयका लागि ५०, वन मन्त्रालयका लागि ४७, शिक्षा मन्त्रालय १ सय ५, अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

अस्थायी दरबन्दीमा नयाँ मानिसलाई नियुक्त नगरी स्थायी दरबन्दीबाटै व्यवस्थापन गरिने भन्दै मन्त्री कार्कीले आफ्ना मान्छे नियुक्ति गर्छ की भन्ने भ्रममा नपर्न अनुरोध गरे।

आयोजना र कार्यक्रमहरू अस्थायी प्रकृतिका हुने भएकाले अस्थायी दरबन्दी सिर्जना गरिएको उनले बताए। स्थायी नियुक्ति दिँदा आयोजना सकिएपछि कर्मचारीको व्यवस्थापनमा जटिलता आउने भएकाले अस्थायी दरबन्दी स्वीकृत गरिएको उनले बताए।

विगतका वर्षहरूमा पनि यस्ता दरबन्दीहरू सिर्जना गर्ने गरिएको उनले स्पष्ट पारे।

यस्तै, सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रूपैयाँको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी, भारतसँग मल खरिदको प्रक्रियाका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय पनि सरकारले गरेको छ। भारत सरकारसँग यसअघि नेपाल सरकारले जीटूजी प्रक्रियामा मल खरिदका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो।

भदौ १४, २०७९ मंगलबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।