ट्वीटरमा 'फेक बालेन'ले हर्क साम्पाङलाई गाली गरेपछि मेयर बालेनले भने- 'हामीले रिपोर्ट गर्नुअगावै आईडी बन्द गर्नुस्'

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को नामबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई गाली गर्ने ट्वीटर ह्याण्डललाई मेयर बालेनले सतर्क गराएका छन्। धरानका मेयर साम्पाङलाई गाली गरिएको ट्वीटमा कमेन्ट गर्दै मेयर बालेनले उक्त ह्याण्डल फेक भएको बताएका छन्।
@777balen को ह्याण्डलबाट गरिएको ट्वीटमा भनिएको छ, 'त्यो धरानको फोहोर निकै नै गह्नाउन थाल्यो आजकल। कतै लगेर डम्प गर्दे सरकार।' यसमा धेरैले मेयर बालेनले यसरी प्रतिक्रिया दिन नहुने भन्ने कमेन्ट गरेका छन्।
कतिपयले बाटोमा भुक्ने सबै कुकुरलाई ढुङ्गा हानेर साध्य नहुने भन्दै बालेनलाई सुझाव दिएका छन्।
धेरै जना उक्त ट्वीट र ट्वीटर ह्याण्डल मेयर बालेनकै हो भनेर झुक्किएपछि मेयर बालेनले स्पष्टीकरणसहित उक्त ह्याण्डललाई सचेत गराएका छन्।
बालेनले लेखेका छन्, 'यो हाम्रो आधिकारिक आईडी होइन। कृपया हामीले रिपोर्ट गर्नुअघि आईडी बन्द गर्नुहोला।' बालेनको आधिकारिक ट्वीटर ह्याण्डल @ShahBalen हो।
पछिल्लो समय मेयर साम्पाङले मेयर बालेनलाई फेसबुक पोस्ट र फेसबुक लाइभमार्फत कटाक्ष गर्दै आएका छन्।
भदौ १४, २०७९ मंगलबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।