उत्पादन मिति नतोकिएका चामल प्याकेजिङ गर्ने उद्योगमा शिलबन्दी, २२७ टन चामल बरामद

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २ लाख २७ हजार ४ सय ९० किलो (२२७ टन)अवैध चामलसहित दुई जनालाई पक्राउ गरेको छ।
सोमबार प्रहरीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–३ सुन्दरीघाटमा रहेको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगमा छापा मार्दा उक्त परिमाणको अवैध चामल बरामद गरेको हो।
बरामद चामलमध्ये १ लाख ८० हजार ३० किलोग्राम चामल खान मिल्ने र बाँकी ४७ हजार ४ सय ६० केजी चामल बिग्रिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ। चामलसँगै प्याकेजिङका लागि राखिएका विभिन्न ब्राण्डका खाली झोला र प्याकेजिङ मेसिन पनि बरामद गरिएको थियो।
अवैध रूपमा प्याकेजिङ गरेको खबरपछि गएको टोलीले उद्योगलाई शिलबन्दी गर्नुका साथै उद्योगका सञ्चालक मोरङको विराटनगर घर भएका २७ वर्षीय एस अग्रवाल र ओखलढुंगाको सुनकोशीमा घर भएका २७ वर्षीय बालकुमार भन्ने लालबहादुर बस्नेतलाई पक्राउ गरेको हो।
उनीहरूले उक्त कम्पनीमार्फत भारतका विभिन्न कम्पनीबाट उत्पाद मिति र उत्पादक स्थान नुखलेको चामल ल्याएर नेपालमा चलेको ब्राण्डको नाम राखेर बिक्री गर्दै आएका थिए। उनीहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको छ भने अनुसन्धान पनि जारी छ।
भदौ १३, २०७९ सोमबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।