प्रचण्डका कारण पार्टीले ओलीलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनायो : महासचिव पोखरेल

प्रचण्डका कारण पार्टीले ओलीलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनायो : महासचिव पोखरेल

काठमाडौ : एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कारण भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीले अघि सारेको बताएका छन्।

सोमबार पार्टी प्रचार विभागले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले उनले ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्नुको कारण प्रचण्ड भएको बताए।

पार्टीमा अरु नेता प्रधानमन्त्री बन्न सक्षम नभएका हुन्? भन्ने प्रश्नको जवाफमा महासचिव पोखरेलले तत्कालिन नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग २०७८ पुस ५ गते भएको भेटको प्रसङ्ग सुनाए।

उक्त भेटमा ओलीको नेतृत्वमा निर्वाचनमा जान आग्रह गर्दा प्रचण्डले ओली अलोकप्रिय भइसकेको अभिव्यक्ति दिएको भन्दै पोखरेलले ओली अझै पनि जनतामाझ लोकप्रिय रहेको बताउनका लागि प्रधानमन्त्रीको उम्मेदवार चयन गरिएको बताए।

प्रचण्डमात्र नभएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि ओलीको लोकप्रियतासँग डर लागेकाले गठबन्धन गरेर निर्वाचनमा जान लागेको उनको दाबी छ।

‘आज प्रचण्डजी मात्रै होइन, माधवकुमार नेपालजी र शेरबहादुर देउवा पनि एमालेसँग चुनाव लड्नका लागि गठबन्धनबाहेक अर्को बाटो देख्नुभएको छैन। यसकारण को लोकप्रिय, को अलोकप्रिय भन्ने प्रश्नको उत्तर उहाँहरू स्वयंले दिनुभएको छ,’ पोखरेलले भने, ‘लोकप्रिय नेतालाई घेराबन्दीमा पारेर सत्ताबाट हटाउँदा जनताले नै सत्तामा ल्याउँछन् भन्ने सन्देश दिनका लागि हामीले केपी ओलीलाई फेरि प्रधानमन्त्रीका रूपमा प्रस्तावित गरेका हौं।’ 

पोखरेलले पार्टीभित्र प्रधानमन्त्रीका लागि नेताको खाँचो नभएको दाबी गर्दै नेपाली राजनीतिलाई सही बाटोमा डोर्याउनका लागि पनि ओली चाहिएको बताए।

कार्यक्रममा पोखरेलले तत्कालीन प्रधानमन्त्री ओली सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश र हाल गठबन्धन सरकारले ल्याएको विधेयक उस्तै हो भनेर भ्रम फैलाइएको दाबी गरे। अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने कुरामा एमालेको फरक मत नभएको उनले बताए। 

पोखरेलले राष्ट्रपतिले पुनर्विचार गर्नु भनेर फिर्ता गरेको विधेयक जस्ताको तस्तै पारित गरे राजीनामा दिने भन्ने अतिरञ्जना फैलाइरहेको बताए। राष्ट्रपतिको प्रश्नको सम्बोधन राष्ट्रियसभाबाट हुने उनले बताए।

भदौ १३, २०७९ सोमबार २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।