ओलीले ल्याएकाे अध्यादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित भयाे : प्रधानमन्त्री देउवा

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको प्रष्टिकरण दिएका छन्।
शीतलनिवासमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवासहितको कांग्रेस नेतृत्वले राष्ट्रपति भण्डारीलाई पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको स्पष्ट पारे।
छलफलपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकताबारे राष्ट्रपति भण्डारीका जिज्ञासालाई आफूहरूले प्रष्ट्याएको प्रतिक्रिया दिए।
‘उहाँका नागरिकता सम्बन्धमा केही केही जिज्ञासाहरू थिए। राजनीति, चुनाव यिनै कुराबारेमा छलफल भयो। हामीले यसबारे प्रष्ट पार्यौं,’ उनले भने, ‘विगतमा केपी ओली सरकारले अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशअनुसार नै विधेयक अहिले पार्लियामेन्टले पास गरेको हो।’
दुवै संसदबाट पारित नागरिकता विधेयक फिर्ता पठाएपछि शीतलनिवाससँग चिसिँदो सम्बन्धबीच प्रधानमन्त्री शेरबहादुर देउवा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य कार्कीलाई साथमा लिएर राष्ट्रपति भण्डरीलाई भेट्न शीतलनिवास गएका थिए।
भदौ १३, २०७९ सोमबार १७:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।