आज बस्ने प्रतिनिधि सभा बैठकका यी हुन् कार्यसूची

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। एघारौं अधिवेशनको ५९औं बैठक आज बिहान ११ बजे बस्नेछ।
आजको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने छन्।
यस्तै सभामुख सापकोटाले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको पनि जानकारी गराउनेछन्।
यसका साथै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६” पेश गर्नेछिन्।
उनले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९” पनि पेश गर्ने कार्यसूची रहेको छ।
आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव समेत प्रस्तुत गर्ने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताए।
भदौ १३, २०७९ सोमबार १०:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।