केपी ओलीसँग अढाई घण्टा भेटे रवीन्द्र मिश्रले, उपहारमा पाए 'चुच्चे नक्सा' भएको एक मुठी सिक्का

केपी ओलीसँग अढाई घण्टा भेटे रवीन्द्र मिश्रले, उपहारमा पाए 'चुच्चे नक्सा' भएको एक मुठी सिक्का

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ। आज सामाजिक सञ्जालमार्फत मिश्रले आफूहरूको भेट भएको र विभिन्न विषयमा कुराकानी भएको बताएका छन्।

मिश्रका अनुसार उनीहरूबीच करिब अढाई घण्टा ओली निवास बालकोटमै भेट भएको थियो। त्यसक्रममा मिश्रले ओलीलाई “तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ?” भनेर सोधेका थिए।

जवाफमा ओलीले आफू अहिले पनि राति सुत्नुअघि कम्तिमा एक घण्टा पढ्ने गरेको बताएको मिश्रले उल्लेख गरेका छन्। मिश्रले ओलीको ऊर्जा अनौठो भएको पनि बताए।

यस्तै उनीहरूबीच आसन्न निर्वाचन, देशको राजनीति/भूराजनीति, विदेशी चासो/हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता लगायतका विषयमा पनि कुरा भएको मिश्रले बताएका छन्।

यसका साथै ओलीको राजनीतिक यात्रा, जेल र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नुपूर्व भोगेका जटिलता तथा कयौँ विषयमा कुराकानी भएको बताइएको छ।

मिश्रले ओलीलाई 'सबै विषयमा धाराप्रवाह बोल्न सक्ने' पनि भनेका छन्। यस्तै ओलीले आफूलाई नआत्तिन पनि सुझाव दिएको मिश्रले बताए। 'तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला', ओलीलाई उद्धृत गर्दै मिश्रले भने।

यस्तै भेटको अन्त्यमा ओलीले आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको चुच्चे नक्सा भएको एक र दुई रुपैयाँको एक मुठी सिक्का उपहार दिएको मिश्रले बताए।

भदौ १३, २०७९ सोमबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।