एक पार्टी सदस्यले कम्तीमा दुई मतदाता थप्न ओलीको निर्देशन

एक पार्टी सदस्यले कम्तीमा दुई मतदाता थप्न ओलीको निर्देशन

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एक पार्टी सदस्यले दुईजना मतदाता थप्न निर्देशन दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनपछि एमाले पार्टीकै नेतृत्वमा सरकार बन्ने भएकाले एकजना पार्टी सदस्यले दुई जना मतदाता थप्नेगरी कार्यक्षेत्रमा खट्न निर्देशन दिएका हुन्।

उनले भने, ‘हरेक पार्टी सदस्यले पुराना होइन नयाँ पहिला मतदाता नभएका कमसेकम २ जना मतदाता थपेपछि राम्रो भनेर बस्ने होइन, दुई जना थपेपछि २ सय २ हजार जतिथपे पनि हुन्छ।’

ओलीले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्। बैठकमा उनले जनताका मतको रक्ष र आफ्नो मतलाई सुरक्षा गर्नसमेत नेता कार्यकर्तालाई सम्झाएका छन्।

बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी र ३४ सदस्यीय केन्द्रीय निर्वाचन सचिवालय गठन गर्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश, जिल्ला, पालिका, वडा र बुथसम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको छ।

भदौ १२, २०७९ आइतबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।