शेयर बजारमा भारी गिरावट, अरुण काबेलीमा झुम्मिए लगानीकर्ता

काठमाडौं : कारोबार हुने साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा आउँदा ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ६.०५ अंकले घटेर ३८५.७० विन्दुमा झर्यो।
बजार घटे पनि कारोबार रकममा भने खासै गिरावट आएको छैन। २२४ कम्पनीको ६१ लाख ४८ हजार कित्ता शेयर यसदिन २ अर्ब ५ करोडमा कारोबार भएको छ।
उपसूचक समूहहरू पनि यस दिन राताम्मे भएका छन्। सहकारी ३.७४, जलविद्युत् २.४२, होटल तथा पर्यटन २.६३, विकास बैंक २.५९, व्यापार २.५, लघुवित्त २.२५ प्रतिशतले घट्दा म्युचल फण्ड मात्र ०.५३ प्रतिशतले बढेको छ।
यसदिन अरुण काबेली पावर लिमिटेडको शेयरमा लगानीकर्ता झुम्मिएका छन्। यस कम्पनीको आइतबार सबैभन्दा बढी १० करोड ३३ लाख रूपैयाँको कारोबार भयो। दोस्रोमा रहेको शिवम् सिमेन्टले ७ करोडको कारोबार गरेको छ।
भदौ १२, २०७९ आइतबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।