गठबन्धनको सहमतिविपरीत कास्कीका सबै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

गठबन्धनको सहमतिविपरीत कास्कीका सबै निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार सिफारिस

पोखरा: एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार सिफारिस गरेको छ। पार्टीले कास्कीका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको हो।

केन्द्रमा गठबन्धन दलका प्रमुख नेताहरूबीच निर्वाचनमा सहकार्य गरेर जाने सहमति भए पनि कास्कीमा भने समाजवादीले केन्द्रको सहमतिविपरीत सबै क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार सिफारिस गरेको छ।

पार्टीका कास्की जिल्ला उपसचिव एवं प्रचार विभाग प्रमुख पूर्ण लामाले दिएको जानकारीअनुसार पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि श्रीनाथ बरालको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। त्यसैगरी क्षेत्र नं १ को प्रदेश सभामा समानुपातिकतर्फ चुडामणि जंगली, दिलकुमारी पन्त र जैनव खातुनको नाम सिफारिस गरिएको छ।

त्यसैगरी क्षेत्र नम्बर १ प्रदेश सभा (क) को लागि प्रत्यक्षतर्फ मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस भएका छन्। यस क्षेत्रमा समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिस भएका छन्।

प्रदेश सभा १ (ख) मा प्रत्यक्षतर्फ पूर्ण लामा सर्वसम्मत सिफारिस भएका छन्। समानुपातिकतर्फ गजकुमारी गुरुङ, डिकबहादुर राई (डिवी), डिलाराम लामिछाने, तिलबहादुर विक ‘तिलक’ र चन्द्रकिशोर गौतम सिफारिस भएका छन्।

कास्की क्षेत्र नं २ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा तुलबहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य र शर्मिला पौडेल सिफारिस भएका छन्।

२ को (क)मा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दान कुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेल सिफारिस भएका छन्। २ को (ख)मा प्रत्यक्ष र समानुपातिकतर्फ रत्ना गुरुङ, मदन काजी श्रेष्ठ, कृष्ण पराजुली ‘ढाका मोहन’, सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस भएका छन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ का लागि कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस भएका छन्। 

प्रदेश सभा ३ (क) मा प्रत्यक्ष र समानुपातिकतर्फ दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असीम गुरुङ, करुणा पराजुली, भीमाकुमारी पौडेल र अनिता दमै (रोशनी) सिफारिस भएका छन्।

यसैगरी ३ (ख) का लागि प्रत्यक्ष र समानुपातिकका लागि होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, संगीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी सिफारिस भएका छन्।

सत्ता गठबन्धनमा कास्कीमा एकीकृत समाजवादीले प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई सिट दावी गरेको सहसचिव लामाले बताए। 

एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पोखरा महानगरमा जित हासिल गरेकाले पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समाजवादीले कास्कीबाट आफ्नो पार्टीले दावी गरेको उनले बताए।

पाँच दलबीच गठबन्धन नभएको अवस्थामा सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने समाजवादीको दावी छ।

अघिल्लो निर्वाचनमा कास्कीमा प्रतिनिधि सभाका तीन क्षेत्रमै एमालेका उम्मेदवार विजयी भएका थिए। प्रदेश सभाका ६ सिटमध्ये माओवादी केन्द्र २, कांग्रेस १ र एमालेले ३ वटा क्षेत्रमा विजय हासिल गरेको थियो।

भदौ १२, २०७९ आइतबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।