गोकर्णेश्वरमा स्कुटर र मोटरसाइकल ठोकिँदा प्रहरी हवल्दारको मृत्यु, तीन जना गम्भीर घाइते

काठमाडौं: गोकर्णेश्वर नगरपालिका- ६ अर्थोपेडिक अस्पतालनजिकै गए राति स्कुटर र मोटरसाइकल एकापसमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा काठमाडौं शंकरापुर नगरपालिका- ५ पालुबारीका ३५ वर्षीय बालकुमार कटुवाल रहेका छन्। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गए राति पौने १२ बजे मृत्यु भएको हो।
कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडि बस्ने जोरपाटीका ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ।
यस्तै मोटरसाइकलमा पछाडि सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ। बा७६प १३५ नम्बर स्कुटर र बागमती प्रदेश-०२-०१९प २४७६ नम्बरको मोटरसाइकल गए राति साढे ११ बजे आपसमा ठोकिएका थिए।
भदौ १२, २०७९ आइतबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।