पश्चिम तराईका थारु अटवारी पर्व मनाउँदै, दुई जिल्लामा सार्वजनिक बिदा

पश्चिम तराईका थारु अटवारी पर्व मनाउँदै, दुई जिल्लामा सार्वजनिक बिदा

काठमाडौं: पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदैछन्। तीजजस्तै मानिने यस पर्वमा राति दर खाएर भोलिपल्ट दिनभरि व्रत बस्ने र साँझ रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र पर्सिपल्ट आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ।

थारु अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहेको छ।

“अटवारी पर्व तीजजस्तै हो, हाम्रो तीज फरक छ हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानी समेत नखाई ब्रत बस्छन्”, उनले भनिन्, “थारू समुदायमा यो पर्वको विशेष महत्त्व छ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ। आफ्ना दिदीबहिनीलाई फलफूल र रोटी मात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको बेदकोट नगरपालिकाका सेटसिंह चौधरीले बताए।

“यो पर्वमा विशेषगरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ”, उनले भने, “यो पर्व तीन दिनसम्म मनाउँछौँ।”

उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा पुगेपछि अटवारी पर्व समाप्त हुन्छ। यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध समेत प्रगाढ हुने विश्वास थारु समुदायमा छ।

अटवारी पर्व ऐतिहासिक घटनासँग पनि जोडिएको छ। दाङका थारुराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ।

महाभारतका पाँच पाण्डव र दाङका थारुराजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो। पाँच पाण्डव र द्रौपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारुराजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानी समेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए।

भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए। त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन्।

“भीमजस्तै बलियो हुनका लागि पानी समेत नखाई थारु समुदायका दाजुभाइले व्रत बस्ने गरेका छन्”, थारू अगुवा हरिलाल चौधरीले भने, “यो पर्व दिदीबहिनीहरूसँग जोडिएको छ।”

थारु समुदायको यो पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुर जिल्लामा सार्वजनिक बिदा दिएको छ।

भदौ १२, २०७९ आइतबार ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।