बालेन्द्रविरुद्ध क्रुद्ध महेश बस्नेत, समर्थकलाई भने, ‘ट्यापेहरूले गाली गर्दैमा केही हुँदैन’

बालेन्द्रविरुद्ध क्रुद्ध महेश बस्नेत, समर्थकलाई भने, ‘ट्यापेहरूले गाली गर्दैमा केही हुँदैन’

काठमाडौं : पार्टीनिकट व्यवसायीको घरमा निर्माण गरिएका अवैधानिक संरचनामा डोजर चलाएपछि एमाले नेता महेश बस्नेत काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहमाथि क्रुद्ध छन्।

एमालेका प्रायजसो कार्यक्रम हुने गरेको अल्फबिटा कम्प्लेक्समा डोजर लगाएकी बेलुकी उनले सामाजिक सञ्जालमा बालेन्द्रविरुद्ध खनिए।

आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको फोटो देखेकै भरमा कम्प्लेक्समा डोजर चलाएको हो भने उनीविरुद्ध कडा अभियान चाल्ने चेतावनीसमेत दिन भ्याए।

सामाजिक सञ्जालमार्फत रोस व्यक्त गरेका बस्नेतको त्यहि पोस्टमा बालेनले कानूनको पालना सबैले गर्नुपर्ने भन्दै व्यवसायीले आफूसँग खिचेको फोटोसमेत पोस्ट गरे।

बस्नेत त्यतिमा मात्रै रोकिएनन्। उनले सोही राति सामाजिक सञ्जालमा अर्को रिप्लाइ दिए। सञ्जालमा बालेन्द्रविरुद्ध विष वमन गर्दै आएका उनी पछिल्लो समय सार्वजनिक कार्यक्तम र टेलिभिजन अन्तर्वार्तामा समेत उनीविरुद्ध उत्रिएका छन्।

बालेन्द्रविरुद्ध खनिएसँगै उनीविरुद्ध पनि बालेन्द्रका समर्थकहरू खनिएका छन्। सांसदलाई अपहरण गरेको प्रसङ्गदेखि गुण्डागर्दीमा संलग्न भएको पुराना विषय ल्याएर उनीविरुद्ध बालेन्द्रका समर्थकहरू लाग्दा उनले भने तिनीहरूलाई ‘ट्यापे’को संज्ञा दिएका छन्।

'ट्यापेहरूले गाली गर्दैमा केही नहुने' भन्दै उनले विध्वंश नभइ निर्माणकाे क्रममा लाग्नुपर्ने बताए। उनले डोजर आतङ्क मच्चाए उपत्यका बस्नलायक नहरने बताउँदै बालेन्द्रलाई डोजर नभइ सल्लाह र कानूनअनुसार काम लिन आग्रह गरे।

भदौ ११, २०७९ शनिबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।