महिलाहरू नै समानुपातिक पद खान लालायित देखिए : पूर्वसभामुख घर्ती 

महिलाहरू नै समानुपातिक पद खान लालायित देखिए : पूर्वसभामुख घर्ती 

काठमाडौं : माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसर्री घर्तीले आमानी निर्वाचनमा प्रत्यक्षतर्फ धेरै महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन्।

काठमाडौंमा भएको एक कार्यक्रममा घर्तीले हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेताहरू रहेको भन्दै टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्त्वलाई आग्रह गरिन्।

शीर्ष नेताहरूमा महिलाहरू समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर बसाएको भन्दै उनले स्वयं महिलाहरू समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको बताइन्।

माओवादी जनयुद्धका कारण नेपाली महिलाहरूमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको उल्लेख गरिन्। पुरुषहरूलाई पितृसत्तावादी भनेर गाली गर्ने  महिलाहरू आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उनको टिप्पणी थियो।

महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने प्रमाणित भएको भन्दै उनले त्यसको उदाहरण आफैं भएको चर्चा गरिन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि ठूलो विश्वास र भरोसा गरेर सभामुखको जिम्मेवारी दिएको स्मरण घर्तीले गरिन्। सभामुखको जिम्मेवारी पाउँदा धेरैले आफूले सम्हाल्न नसक्ने भन्दै खिसीट्युरी गरेको उनले सुनाइन्।

घर्तीले  महिलालाई अवसर र सम्मान दिने कुरामा माओवादी नेतृत्व अरु दलको तुलनामा धेरै प्रगतिशील रहेको दाबी गरिन्। आफूहरूको आन्दोलनले नै आजका छोरीहरूलाई अधिकारप्रति सचेत गराएको र आफ्नै खुट्टामा उभिन सक्ने बनाएको दाबी घर्तीले गरिन्।

महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताइन्। महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उनको भनाइ थियो। 

फरक प्रसंगमा घर्तीले सांसदले नीति निर्माणको काम गर्नुपर्नेमा विकास निर्माणको काम गरिरहेको टिप्पणी गरिन्। नीति निर्माण छाडेर सांसदहरू विकास निर्माणको पर्यायवाची बनेको उनको भनाइ थियो।

भदौ ११, २०७९ शनिबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।