२२ गतेसम्म उम्मेदवार सिफारिस गरेर पठाउन एमालेको निर्देशन, यस्तो छ मापदण्ड

काठमाडौं : एमालेले मातहतका कमिटीलाई भदौ २२ गतेसम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ।
शनिबार बसेको केन्द्रीय कमिटीको बैठककाे निर्णय सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले भदौ २२ गतेभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए।
उनले अघिल्लो कुनै पनि तहको निर्वाचनमा पराजित उम्मेदवारको नाम सिफारिस नगर्न, स्थानीय तहमा विजयी कुनै पनि उम्मेदवारलाई राजीनामा गर्न लगाएर सिफारिस नगर्ने गरी मापदण्ड तयार पारेको बताए।
पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुनबमोजिमको योग्यता भएको हुनुपर्ने मापदण्ड उसले तय गरेको छ।
उम्मेदवार सिफारिस गर्दा प्रत्येक तीन जनामा एकजना महिला अनिवार्य गर्नसमेत एमालेले निर्देशन दिएकाे छ। यस्तै पार्टीमा याेगदान र जित्नसक्ने आधार भएकाहरूलाई पहिलाे प्राथमिकता दिन पनि उसले भनेकाे छ।
यद्यपि एमालेले केन्द्र र प्रदेशको सम्पूर्ण उम्मेदवार भने केन्द्रले नै निर्णय गर्ने उनले स्मरण गराए।
भदौ ११, २०७९ शनिबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।