पहाडमा शहरी पूर्वाधार नबन्दा बसाइँसराइ बढ्यो: प्रधानमन्त्री देउवा

पहाडमा शहरी पूर्वाधार नबन्दा बसाइँसराइ बढ्यो: प्रधानमन्त्री देउवा

बुटवल: प्रधानमन्त्री शेरबहादुर देउवाले पहाडमा शहरी पूर्वाधार नबन्दा बसाइँसराइ अत्यधिक बढेको बताएका छन्। बुटवलमा शनिबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यसका कारण देशमा असन्तुलित विकास भएको बताए।

पहाडी जिल्लामा सघन शहरी विकास गर्न आवश्यक रहेको पनि उनले बताए। यसका लागि नयाँ शहरी नीति कार्यान्वयन गरिने उनको भनाइ छ।

उनले शहर व्यवस्थित भए आर्थिक गतिविधि बढ्ने भएकाले दीगो विकास र अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने समेत बताए। उनले मुलुकको द्रुत विकासका लागि व्यवस्थित शहरीकरण आवश्यक भए पनि कतिपय शहर व्यवस्थित नबनेकाे उनले बताए।

सुन्दर स्वच्छ शहर अहिलेको आवश्यकता भएकाले शहरी पूर्वाधारलाई व्यवस्थित बनाउनुको विकल्प नभएको उनले बताए।

साथै गृहमन्त्री बालकृष्ण खाँणले चालू आर्थिक वर्षभित्रै दाङ र सिद्धबाबामा सुरुङमार्गको काम सुरु हुने बताए। यसले यातायात सहजताका साथै सुरक्षित बनाउन मद्दत मिल्ने उनको भनाइ छ।

साथै उनले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण हुने र नागरिक विस्थापित नहुने गरी औद्योगिक क्षेत्र बन्नेमा सरकार लागि परेको बताए। क्षेत्रफल घटाएर भए पनि नागरिक विस्थापित नगरिने उनको भनाइ छ।

भदौ ११, २०७९ शनिबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।