रुपन्देहीका जनप्रतिनिधिले विकासको गफ होइन, काम गर्छन्: विष्णु पौडेल

बुटवल: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीका जनप्रतिनिधिले विकासको गफ होइन काम गर्छन् भन्ने पुष्टि भएको बताएका छन्। बुटवल- १० स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले जनताको चाहनाले क्रमशः सार्थकता पाएको र यो सम्मेलन केन्द्रको निर्माणले रुपन्देहीका जनप्रतिनिधिले काम गर्छन् भन्ने पुष्टि भएको उनले बताएका हुन्।
नेता पौडेलले रुपन्देही विकासको रोलमोडल बन्दै गएको पनि बताए। उनले भने, 'विकासका नयाँ नयाँ मानक स्थापित गर्न रुपन्देही सफल भएको छ। यहाँको विकास अरूका लागि हेर्न लायक बनेको छ। यो सम्मेलन केन्द्र त्यसैको प्रमाण हो।'
रुपन्देही पूर्वाधार विकास र कनेक्टिभिटीको हिसाबले समेत उत्कृष्ट भएको भन्दै रुपन्देही क्षेत्र नं २ का सांसद समेत रहेका पौडेलले सम्मेलन केन्द्र बुटवलको गहना भएको बताए। उनले यसको सञ्चालन अवधारणामा विशेष ख्याल राख्न सरोकारवालालाई आग्रह गरे।
उनले नियमित कार्यक्रम भए मात्र सम्मेलन केन्द्रले प्रतिफल दिनसक्ने र सबै प्रकारका कार्यक्रम यहाँ हुनुपर्ने बताए।
फरक प्रसङ्गमा उनले लुम्बिनी गुरुयोजना पूरा नहुँदा योजना कार्यान्वयन हुन नसकेको बताए। साथै उनले विमानस्थलको दोस्रो चरणका काम बाँकी रहेको र त्यसका निम्ती केही बजेट प्रबन्ध भएको भन्दै उनले सरकारको अनुमति मात्र आवश्यक रहेको बताए।
भदौ ११, २०७९ शनिबार १३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।