एक अर्ब ११ करोडको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रधानमन्त्रीद्वारा उद्घाटन

एक अर्ब ११ करोडको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रधानमन्त्रीद्वारा उद्घाटन

बुटवल: प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्मित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटनका गरेका छन्। नेपाली सेनाको हेलिकप्टरमा बुटवलमण्डपमा उत्रेका देउवाले उद्घाटनसँगै सम्मेलन केन्द्रको अवलोकन गरेका थिए।

सम्मेलन केन्द्र र प्रर्दशनीस्थललाई पूर्वअर्थमन्त्री विष्णु पौडेलले आफ्नो 'ड्रिम प्रोजेक्ट'को रूपमा अगाडि बढाएका थिए। यो सम्मेलन केन्द्र शहरी विकास मन्त्रालयमार्फत एक अर्ब ११ करोड रुपैयाँको लागतमा निर्माण भएको हो।

सभाहल सञ्चालनमा आएसँगै अब बुटवलमै अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न सकिने भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरमा यो सम्मेलन केन्द्र निर्माण गर्न २०७१ साल माघ १५ गते ठेक्का सम्झौता गरिएको थियो।

ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी निर्माण थालिएको थियो। यस्तै‌ कोरोना महामारीले पनि यसलाई प्रभावित बनायो।

यहाँ एउटै छानोमुनि दुई हजार मानिस अट्छन्। यो मोफसलकै सबैभन्दा ठूलो सम्मेलन केन्द्र हो।

बुटवलमण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९.६ बिघा क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ। यसको केन्द्रदेखि पश्चिमतर्फको ६.४ बिघा क्षेत्रफलमा भने अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।

सतहबाट हेर्दा ब्लकअनुसार फरक–फरक संरचना देखिने सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीन वटै भवन एकापसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिन्छ।

भदौ ११, २०७९ शनिबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।