कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा

काठमाडौं: कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ। यही भदौ १२ गते सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिएको हो।
प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वको अवसरमा दिएको बिदाको मिति संशोधन गरेर भदौ १२ गते कायम गरेको हो। यसअघि २०७८ चैत २२ गतेको मन्त्रिपरिषद्को बैठकले अटवारी पर्वको बिदा भदौ १९ गते दिने निर्णय गरेको थियो।
अब आइतबारका दिन कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत विष्णुदत्त अवस्थीले बताए।
तिथिमिति अनुसार अटवारी पर्व भदौ १२ गते परेको भन्दै थारु कल्याणकारिणी सभा कैलालीले बिदाको मिति संशोधन गर्न माग गरेको थियो। प्रदेश सरकारको सो निर्णयलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ।
भदौ १०, २०७९ शुक्रबार १२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।