गण्डकीका ११ वटै जिल्ला र प्रदेश सभा निर्वाचन क्षेत्रका लागि कांग्रेसले प्रतिनिधि खटायो

गण्डकीका ११ वटै जिल्ला र प्रदेश सभा निर्वाचन क्षेत्रका लागि कांग्रेसले प्रतिनिधि खटायो

काठमाडौं: ‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेश सभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ। गण्डकी प्रदेश कार्यसमितिको बिहीबार सम्पन्न पदाधिकारी बैठकले जिल्लामा प्रदेश समितिका पदाधिकारी र ३६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला ‘मधु’का अनुसार मनाङ र मुस्ताङका लागि प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठलाई बागलुङ र म्याग्दी, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेलाई कास्की र पर्वत, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठलाई गोरखा, सहमहामन्त्री कोपिला रानाभाटलाई स्याङ्जा, रमेश पाण्डेलाई नवलपुर, रामचन्द्र जोशीलाई लमजुङ र माधवप्रसाद बाँस्तोला ‘मधु’लाई तनहुँ जिल्लाका लागि प्रतिनिधि खटाइएको छ।

त्यस्तै ३६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको उनले जानकारी दिए।

बैठकबाट प्रदेश कार्यसमितिअन्तर्गत सूचना सञ्चार तथा प्रचार विभागमा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी १२ प्रदेश विभाग सदस्य थप गरिएको विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए।

बैठकले कांग्रेस केन्द्रीय सदस्य, नेता एवं समाजवादी चिन्तक प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको असामयिक निधनप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

भदौ १०, २०७९ शुक्रबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।