बालेनले घरको नक्साबारे सोधेपछि महेश बस्नेतको जवाफ, 'मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला'

बालेनले घरको नक्साबारे सोधेपछि महेश बस्नेतको जवाफ, 'मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला'

काठमाडौं: एमाले नेता महेश बस्नेत र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीच फेसबुकमा जुहारी चलेको छ। हिजो मेयर  बालेनले अनधिकृत संरचना बनाएको भन्दै अल्फाबिटा कम्प्लेक्सको फार्मेसी भएको भाग भत्काएपछि बस्नेतले बालेनको नियतमाथि शंका गर्दै फेसबुकमा लेखेका थिए।

बस्नेतले अल्फाबिटाको भवनमाथि डोजर चलाउनु नक्सा पासअनुसार नभएर कि एमालेका नेतासँग नजिक भएर या फोटो लिएर भन्दै प्रश्न गरेका थिए। उनले आफूहरूसँग नजिक भएकाले भत्काइएको भए सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने बताएका थिए।

त्यस पोस्टमा बालेनले कमेन्ट गर्दै नक्सा पासअनुसार नभएकाले भत्काइएको भन्दै बस्नेतको घरको नक्साबारे सोधेका थिए। बालेनले लेखेका थिए, 'बरू हजुरको घरको नक्सा पास छ कि छैन?'

महेश बस्नेतकाे पोस्टमा बालेनको कमेन्ट– ‘हजुरको घरको नक्सा पास छ कि छैन ?’

त्यस कमेन्टको जवाफ बस्नेतले केही घण्टापछि दिए। आफू कार्यक्रममा व्यस्त भएकाले ढिलो कमेन्ट हेरेको भन्दै उनले बालेनलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएको आरोप लगाए। उनले फेरि लेखे, 'तपाईंलाई सबैको घरको नक्सा हेर्ने भूत सवार भएछ। मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला।'

यस्तै बस्नेतले बालेनलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लागेको पनि बताए। अनि आफ्नो क्षेत्रमा ध्वंस होइन निर्माणको लहर चलेको भन्दै मेयर बालेनलाई कटाक्ष गरे।

उनले भने, 'यताका डोजरमा मेयर चढ्दैनन् ड्राइभर चड्छन्। डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोला। अनि २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिनु विगतका यस्ता २/४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन खोज्नैपर्ने भाको छ।'

बस्नेतले गाली गलौजको संस्कृति आफ्नो नभएको बताउँदै त्यस्को विकाश र प्रोत्साहन अहिले रमाइलो लागे पनि पछि आफ्ना विरोधिले पनि सोही शैली अपनाए गाह्रो हुने बताए।

भदौ १०, २०७९ शुक्रबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।