कार्यकर्तासँग सेल्फी खिचिरहे माधव र झलनाथ, अचाक्ली भएपछि कड्किए गंगालाल तुलाधर

काठमाडौं : एकीकृत समाजवादीले पार्टी गठन भएको एक वर्षलाई पुनर्गठन दिवसको रूपमा मनायो।
थापागाउँको एक पार्टी प्यालेसको साँघुरो ठाउँमा भएको कार्यक्रममा कार्यकर्ता समेत मुस्किलले अटाए। पार्टी प्यालेसको पार्किङमा कार्यकर्तालाई टेन्टमा राखियो। सडकमा राखिएका सवारीले ट्राफिक जाम भयो।
कार्यक्रम सकिएपछि अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई कार्यकर्ताले घेरेर फोटो र सेल्फी खिच्न थाले। सञ्चारमाध्यममा अन्तर्वार्ता त भै नै हाल्यो। दुई नेता त्यसमै व्यस्त भए।
दुई नेता व्यस्त हुँदा पार्किङबाट सडकमा निस्कने बाटो जाम भयो। खनालका पीसओले बाहिर जाम भयो अब कुराकानी र फोटो सेसन रोकौं भनेर आग्रह पनि गरे। तर, कार्यकर्ताको भीडले घेरा हालेका दुवै नेता बाहिरिन सकेनन्।
उनीहरूलाई पाइलापिच्छे कार्यकर्ताले घेरिरहे। जाम भइनै रह्यो। अचाक्ली भएपछि पार्टी उपमहासचिव गंगालाल तुलाधर आए र कड्किए, ‘फोटो खिच्न बन्द गरौं बाहिर उहाँहरूको गाडीले गर्दा जाम भयो।’
नेता रिसाए पनि कार्यकर्ताले आफ्नो सुर छाडेनन्। पीएसओले मुस्किलले कार्यकर्ताबाट छुटाएर नेपाल र खनाललाई गाडीसम्म पुर्याए।
भदौ ९, २०७९ बिहीबार २२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।