कमजोर नठान्न चुनौती दिँदै माधव नेपालको ठोकुवा– ‘समानुपातिकतर्फ २० सिट ल्याउँछौं’

कमजोर नठान्न चुनौती दिँदै माधव नेपालको ठोकुवा– ‘समानुपातिकतर्फ २० सिट ल्याउँछौं’

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले समानुपातिकतर्फ २० सिट ल्याउने दाबी गरेका छन्।

बुधबार पार्टी पुनर्गठन दिवसमा सम्बोधन गर्र्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कसैले पनि कमजोर नठान्न चुनौती दिँदै समानुपातिकमा २० सिटसम्म ल्याउने दाबी गरे।

स्थानीय तह निर्वाचनमा साढे ९ लाख भोट ल्याएको भन्दै उनले सबै ठाउँमा उम्मेदवारी दिएको खण्डमा २० लाखसम्म भोट आउने बताए।

‘साढे ९ लाख भोट पाएका छौं, सबै ठाउँमा उम्मेदवारी दिन सकियो भने १८–२० लाख भोट आउँछ,’ उनले भने, ‘समानुपातिकमा १८–२० सिट आउँछ, कसैले कमजोर नठाने हुन्छ।’

अध्यक्ष नेपालले देशभर पार्टीका साधारण सदस्यबाहेक १ लाख २७ हजार संगठित सदस्य मात्रै रहेको दाबी गर्दै पोखरा महानगरमा वडामा उठ्न नदिएर कम मात्र मत देखिएको बताए।

अध्यक्ष नेपालले गठबन्धनको भर नपरेर पार्टी कमिटी बनाउन लाग्नुपर्नेतर्फ कार्यकर्ताको ध्यानाकर्षण गराए। देशभरका ७५ प्रतिशत पालिकामा पार्टी कमिटी पुगेको भन्दै उनले ५ जनाको भए पनि कमिटी बनाउन निर्देशन दिए।

‘पुष्पलालले ५ जनाको कमिटी बनाउनुभएको थियो,’ उनले निर्देशन दिँदै भने, ‘पहिले बीउ रोप्नुस्, ५ जनाको बीउ ५० हजार पुग्नसक्छ।’

संगठन बनाएसँगै पार्टी कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिँदै चुनावी अभियानमा लगाउनुपर्ने उनको भनाइ छ। पार्टीभित्र लिखित रूपमा रिपोर्टिङ गर्ने काम नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले कामलाई पृथकीकरण गरेर लिखित रिपोर्टिङ गर्न निर्देशन दिए।

अध्यक्ष नेपालले एक वर्षको अवधिमा महानगरको प्रमुख पदमा पुग्नु सामान्य विषय नभएको भन्दै उनले एक वर्षको अवधिमा कुनै पार्टीले यत्तिको प्रगति गर्न नसकेको जिकिर गरे।

भदौ ९, २०७९ बिहीबार १५:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।