विराटनगर, भरतपुर र नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बन्ने

काठमाडौं: सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु गर्नेगरी आवश्यक प्रक्रिया अघि बढाएको हो।
प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले यी तीन विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनका अनुसार नयाँ टावर टर्मिनल भवन निर्माणार्थ ठेक्का लगाउन प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेको छ।
ती विमानस्थलका ५० वर्षभन्दा पुराना टर्मिनल भवन जीर्ण बनेका तथा पछिल्लो समय जहाजको सिट सङ्ख्या बढ्नुका साथै हवाईयात्रु पनि बढेकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै आधुनिक टर्मिनल भवन निर्माण गर्न लागिएको हो।
यस्तै विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधि समेत हुनेगरी ‘डिजाइन’ गरेर नयाँ टर्मिनल भवन बनाउन लागिएको उनले बताए।
टर्मिनल भवन बनाउन करिब रु नौ अर्ब लगानी हुने प्राधिकरणले जनाएको छ। ती भवनमा अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहित हुनेछ।
प्राधिकरणका प्रवक्ता निरौलाले चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरु हुने र तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने योजना रहेको बताए।
प्राधिकरणका अनुसार मुलुकमा हाल तीन अन्तर्राष्ट्रियसहित जम्मा ५३ विमानस्थल निर्माण भएका छन्। तीमध्ये अहिले ३३ विमानस्थल सञ्चालनमा रहेका छन् भने बाँकी २० विमानस्थल निर्माण भएर पनि सञ्चालन भएका छैनन्।
हालसम्म ४० विमानस्थल कालोपत्र गरिएका छन्।
भदौ ९, २०७९ बिहीबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।