गठबन्धन बैठक: सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्क बुझाउन कार्यदललाई निर्देशन

गठबन्धन बैठक: सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्क बुझाउन कार्यदललाई निर्देशन
फाइल तस्बिर

काठमाडौं: सत्ता गठबन्धनको आज बसेको बैठकले सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्क बुझाउन कार्यदललाई निर्देशन दिएको छ। गठबन्धनका शीर्ष नेताको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई यस्तो निर्देशन दिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै अपराह्न ४ बजे बस्ने बैठकमा १६५ निर्वाचन क्षेत्रको तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

सत्ता गठबन्धन आबद्ध दलहरूले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको खाका बनाउन कार्यदल गठन गरेका थिए। कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला छन्।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी थिए।

भदौ ९, २०७९ बिहीबार १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।