चितुवाको मुखबाट तीन वर्षको छोरो खोसेर ल्याइन् लक्ष्मीले

चितुवाको मुखबाट तीन वर्षको छोरो खोसेर ल्याइन् लक्ष्मीले

तनहुँ: बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास र लक्ष्मी परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ। साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई आक्रमण गरेर घाइते बनाएपछि चितुवाले बालक सुलभलाई समेत आक्रमण गरेको थियो।

खसीलाई आक्रमण गरेपछि रानाले होहल्ला गरेका थिए। त्यसपछि चितुवा भागेको थियो। तर पुनः गाउँमा पसेर सुलभलाई आक्रमण गरेको थियो।

साँझ करिब ६ बजे घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए। परियारलाई लैजान थालेपछि उनकी आमा लक्ष्मी पनि चितुवाको पछिपछि कुदेकी थिइन्। चितुवाले करिब ५० मिटर टाढा पुर्याएको छोरालाई खोसेर ल्याउन उनी सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए।

घाइते सुलभको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ। केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो।

उक्त घटनामा एक बालिकासहित दुई जना चितुवाको आक्रमणबाट घाइते भएका थिए।

भदौ ९, २०७९ बिहीबार ११:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।